काठमाडौं फागुन २
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढ चोकस्थित सडकमा प्रदेश २–०२–००१ ख ३३९९ नम्बरको टिपरमा मधेश प्रदेश ०२–००८ प ०४६४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गणेशमान चारनाथ नगरपालिका–४ बिरेन्द्रबजार बस्ने २७ वर्षीय अजय विश्वकर्माको मृत्यु भएको छ।
गम्भीर घाइते भएका उनको मोडल अस्पताल लालगढमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा सवार एक जनाको उपचार भइरहेको छ भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कास्कीको पोखरा महानगरपालिका–६ स्थित सडकमा बीएए १५८२ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार २४ वर्षीय अदित गुरुङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते अर्का एक जनाको उपचार भइरहेको छ। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ स्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय सोनु कोरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते अन्य व्यक्तिहरूको भैरहवास्थित अस्पतालमा उपचार भइरहेको छ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा रोकी राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ३६ वर्षीय सुवास थिङको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
ललितपुरको कोन्जोसोम गाउँपालिका–१ बाउनडाँडामा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५३ वर्षीय गणेश खड्कासहित चार जनाको मृत्यु भएको छ। दुई जनाको घटनास्थलमै र दुई जनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।








