काठमाडौँ, २७ फागुन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मिश्रसँगै गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का, तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुवोधकुमार चापागाईसमेत १२ जनाविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार गाउँपालिकाको वडा नम्बर ३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माणको काममा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको अभियोगपत्रमा उल्लेख छ ।
भवनको लम्बाइ लामो छोटो भएको, पिलर तथा टाई बीमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडा अध्यक्षले बेचेर आफै खर्च गरेको पाइएको आयोगले जनाएको छ ।








