काठमाडौँ, २४ फागुन
नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्रीमाथि राजनैतिक बेइमानी गरेको आरोप लगाएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले आजै समर्थन फिर्ता लिने निर्णय गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक बेइमानी गरेको उनले बताए । ‘प्रचण्डले विश्वास घात गरेर गठबन्धन तोडे । काल्पनिक कपोलकल्पित तथा कथित कारण देखाउनुभयो । हामीले यसलाई राजनीतिक बेइमानीका रूपमा लिएका छौँ,’ उनले भने, ‘हामीले सहमतिहरू पालना गर्दै गयौँ । उहाँले अविश्वसनीय ढंगले गठबन्धन भत्काउनु भयो ।
गठबन्धन भत्काएर मुलुकलाई अनिश्चितता तर्फ लग्नुभयो ।’गठबन्धन तोडेर प्रधानमन्त्रीले देशलाई अस्थिरता र अनिश्चिततातर्फ लगेको कांग्रेसको आरोप छ ।
‘हामीले हाम्रा सांसदहरुलाई संसदमा देश जनताका हितमा प्रधावकारी रुपमा प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देश गरेका छौं,’ प्रमुख सचेतक लेखकले भने ।








