काठमाडौं, ९ माघ
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नक्कली प्रवेश पत्र बनाएर ट्रायल दिने एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इलामको चुलाचुली–४ घर भई हाल काठमाडौंको थली बस्ने १८ वर्षीय सिजन पुरी रहेका छन्। भक्तपुरको राधेराधेस्थित इजी वई ट्रायल सेन्टरमा दुईपांग्रे सवारी साधनको प्रयोगात्मक परीक्षा दिने क्रममा उनि पक्राउ परेका हुन् ।
उनि पहिलो पटक परीक्षामा अनुत्तीर्ण भइ पुनः दोस्रो पटक अर्कै नक्कली प्रवेश पत्र लिएर परीक्षामा सहभागी भएका थिए । दोस्रो पटक समेत फेल भएका उनले तेस्रो पटक पनि नक्कली प्रवेश पत्र लिएर सहभागी भएका थिए ।
पुरीलाई आवश्यक अनुसन्धानका लागी प्रहरी वृत्त ठिमीमा पठाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।








