बाग्लुङ, माघ ४
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपातको प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाग्लुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतम रहेका छन् ।
कुटपिट गर्न लागेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । कुटपिट गर्नुको कारण भने नखुलेको प्रहरीले बताएको छ ।
‘उहाँ (प्रसाईं) मञ्चमा उक्लिने क्रममा हातपातको प्रयास भएको थियो,’ जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले भने, ‘हातपातको प्रयास गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छौं ।’
‘नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाईं’ नामक अभियानका क्रममा प्रसाई बिहिबार बाग्लुङ पुगेका थिए । प्रसाईंले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नाममा विभिन्न जिल्लामा कार्यक्रमहरु गरिरहेका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको एसपी खड्काले जानकारी दिए ।








