राँझा (बाँके), २९ पुस
थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् ।
पुसको अन्तिमदेखि माघको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने बाँकेका थारु अगुवा रामदास थारुले बताउनुभयो । “माघीको अवसरमा नाचिने माघी, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँच थारु गाउँमा सुरु भएका छन्”, उहाँले भन्नुभयो, “गाउँगाउँमा नाचसँगै माघीको चहलपहल सुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा उठाउने चलन पनि छ ।”
थारु समुदायमा माघीलाई विशेष महत्त्वका साथ हेरिन्छ । माघीदेखि नै समुदायमा नयाँ काम सुरु गर्नुका साथै नयाँ व्यवस्था लागु हुने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिने बैजनाथका थारु अगुवा चन्द्रबहादुर चौधरीले बताउनुभयो । “यो पर्वलाई समुदायमा आ–आफ्नै तरिकाले मनाउने गरिएको छ । तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया एक वर्षलाई एउटै हुने भएकाले यसको विशेष महत्त्व रहन्छ”, उहाँले भन्नुभयो ।
माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीति नियम निर्माण गर्ने पर्वका रुपमा रहेको चौधरीको भनाइ थियो । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीमा यी जिल्लामा विशेष महत्त्वकासाथ मनाउने गरिन्छ ।
गाउँको अगुवा, प्रमुखदेखि चौकीदारसम्म चुनिने, वर्षभरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने, लेनदेन, घरसल्लाहलगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेका राप्ती सोनार–३ बैजापुरका थारु अगुवा तुलसीराम थारुले बताउनुभयो । “विशेष गरेर पुसको अन्तिम दिनदेखि माघीको रौनकता बढ्छ । अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङ्गरोगन, जाँड तथा ढिक्री पकाउने तथा खानाका अन्य परिकार बनाउने काम पुरा भएको छ”, उहाँले भन्नुभयो, “माघीको अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको समेत आयोजना हुन गर्दछन् ।”
तुलसीरामका अनुसार थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिसहरु एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बालेर रातभर रमाइलो गर्दछन् । राती आगो ताप्ने, बिहान भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन् । नुहाएर आफुभन्दा ठूलासँग आशिर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको उहाँको भनाइ थियो ।
“माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने गरिन्छ”, तुलसीरामले भन्नुभयो । माघी पर्वसँगै थारु सँस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान पनि सुरु भएको बैजनाथ–१ च्यामाका गणेश थारुले जानकारी दिनुभयो । (रासस)








