रौतहट, २९ पुस
जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीश विदामा भएकाले कांग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी आज स्थगित भएको छ ।
जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार न्यायाधीशहरु विदामा भएकाले पेसी स्थगित भएको हो । उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो । त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलमलाई लागेको छ ।
यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।








