विराटनगर, १८ पुस
विराटनगरस्थित नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वा र सुनसरीको दुहवी–१२ का २९ वर्षीय राजेशकुमार फौदार रहेका छन् ।
अस्पतालको काउन्टरमा कार्यरत तीन जना कर्मचारीको मिलेमतोमा २० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्ने अस्पतालको उजुरीको आधारमा उनीहरु पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानबाट रकम हिनामिना गर्ने कार्यमा उनीहरुको संलग्नता खुलेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरुलाई आपराधिक विश्वासघात अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। उनीहरु तीनै जना अस्पतालको क्यास काउन्टरमा कार्यरत कर्मचारी रहेको डिएसपी दाहालले जानाकारी दिए।








