बारा, ११ पुस
बारामा प्रहरीले गोलि चलाएर एकजनालाई पक्राउ गरेको छ । भारतको मोतीहारी घर भएका २५ वर्षीय सुजितकुमार सिंहलाई गएराती पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बाराको बिश्रामपुरबाट पक्राउ गरेको हो।
उनि कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्तका रुपमा संलग्न थिए । उनलाई २ महिनादेखि प्रहरीले खोजिरहेको थियो । अन्ततः उनलाई मंगलवार राति करिब ९ बजे घुडामुनि गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि नै गोली प्रहार गरी आक्रमण गर्न खोजेपछि जवाफी फाइरिङ गरिएको काफ्लेले बताए। उनको साथबाट प्रहरीले एक थान पेस्तोल र ४ थान गोली नियन्त्रणमा लिईएको छ । अहिले उनको हाल कलैया स्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार विगत ५ वर्षदेखि बारा, पर्सा, रौतहटलगायत जिल्लाहरूमा भएका विभिन्न आपराधिक घटनाहरूमा उनको संलग्नता रहेको देखिएको छ। सिंह नेपाल प्रहरीको मात्र नभई भारतीय प्रहरीको पनि मस्ट वान्टेड सूचीमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








