काठमाडौं, साउन २-
चलन चल्तिका लागि अयोग्य झुत्रा नोट धुल्याउँदा ९० दिनको सीसीटीभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले नोट धुल्याउन नियमावली २०७८ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
झुत्रा नोट धुल्याउने मेसिन वा फर्नेस रहेको स्थानको पर्याप्त कभरेज हुने गरी कम्तीमा ९० दिनको दृष्यको अभिलेख सुरक्षित राख्ने सीसीटीभी क्यामेराको व्यवस्था अनिवार्य गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।
यस्तै धुल्याइने नोटको थान गन्ती गरी लगत खडा गरी राख्नु पर्ने नियमावलीमा उल्लेख छ । रोडिङ तथा ब्रिकेटिङ गर्ने प्रयोजनका लागि छुट्ट्याइएका पाँच सय र एक हजार दरका नोट शतप्रतिशत पुनः गन्ती गरी मात्रै धुल्याउनु पर्ने राष्ट्र बैंक्ले जनाएको छ ।
नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्ने र नोट धुल्याउने क्रममा समितिका पदाधिकारीको नाम, थर, पद र कर्मचारीको कोड नम्बरसहित छुट्टै माइन्युट तयार गरी राख्नु पर्ने छ ।
नोट धुल्याउनु अघि समितिको रोहबरमा पाँच सय र एक हजार दरका नोट बाहेक अन्य दरका नोटको प्रत्येक बण्डलको शत प्रतिशत प्याकेट गन्ती गरी ती बण्डलमध्ये नमूना छनौट (यान्डम स्याम्प्लिङ) गरी कम्तीमा पाँच प्रतिशत बण्डल छट्टयाई उक्त बण्डलमा रहेको प्याकेट तथा थान समेत गन्ती गरी रुजु गरेपश्चात् मात्र धुल्याउनु सकिने व्यवस्था नियमावलीले गरेको छ ।
राष्ट्र बैंकले नेदरल्यान्डबाट ल्याएको प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर नस्किने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउने भएको हो ।
२०२० मा राष्ट्र बैंकले नेदरल्याण्डको एक कम्पनीसँग आठ मेसिन ल्याउने सम्झौता गरेको थियो । जसमध्ये फागुनमा ४ वटा मेसिन ल्याएर पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरिसकेको छ ।








