गण्डकी, २७ असारः
छ महिना नबित्दै युट्युबमा दश करोडपटक हेरिएको गीत ‘दुश्मन हेरेको हेरै’बाट चर्चामा आउनुभएका गायक दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ले युट्युबमा रेकर्ड कायम गरेको छ ।
उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्र सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल भएको हो ।
बुधबार बेलुका सार्वजनिक उक्त गीतलाई शुक्रबार दिउँसोसम्म ३० लाखभन्दा बढीपटक हेरिएको छ ।
गायक थापा र सिसन बानियाँको स्वर रहेको यस गीत अहिले युट्युब ‘ट्रेन्डिङ’को शीर्षस्थानमा छ । गीतको म्युजिक भिडियोमा गायक थापा, बानियाँ, गुराँस नानी र पेम्बा लामाको अभिनय देख्न सकिन्छ ।
गत पुसमा सार्वजनिक गायक थापाको गीत ‘दुश्मन हेरेको हेरै’लाई पनि हालसम्म युट्युबमा १० करोड ७३ लाखभन्दा बढीपटक हेरिएको छ ।
यही असार पहिलो साता उक्त गीतको ‘भ्यूज’ १० करोड नाघ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत गायक तथा सर्जक थापालाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिनुभएको थियो ।