चितवन, २९ फागुन
दाइजोमा सुनको सिक्री नदिएको भन्दै विवाह रद्द गरेपछि बिरगंज प्रहरीले बेहुलासहित ६ जनालाई पक्राउ गरेको छ । सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका हुन् । उनि वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर पनि हुन् ।
वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार विक्रम थापाले जानकारी दिए ।
शाहले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए ।
पीडित परिवारले दाइजो सम्बन्धि कसुरमा जाहेरी दिने बताएका छन् ।
दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो। दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएका छन्। सरकारले बालविवाह र दाइजो प्रथालाई निर्मूल पार्ने भन्दै आए पनि यो व्यवहारमा लागू हुन सकेको छैन।








