काठमाडाैं फागुन २८,
राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार नारायणप्रसाद दाहालले आफूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकामा असन्तुष्टि जनाएका छन् । राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि दाहाललाई संसद् भवन नयाँ बानेश्वरमा पत्रकारहरूले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनिन्छ नि भनेर सोधेका थिए ।
तर, उनले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताए ।
अध्यक्षमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन ।’
आफू विसं २०३६ देखि राजनीतिक गतिविधिमा लागेको भन्दै त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको उनले बताए । ‘दाजुभाइको नाता लगाउनेले त्यसबेला युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नु पर्यो भनी किन प्रश्न नगरेको ?,’ उनले प्रश्न गरे ।
त्योबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने लाञ्छना नेतृत्वलाई लाग्ने गरेको उनले स्मरण गरे । ‘मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, यसलाई अन्यथा लिन मिल्दैन,’ उनले भने ।








