काठमाडौँ, २३ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेको २ दिनपछि नयाँ सत्ता साझेदार दलहरूबीच मुख्य मन्त्रालयको बाँडफाँड टुंगिएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपासहितका सत्ता साझेदार दलले मन्त्रिपरिषद्मा भागबण्डा गरेका हुन् ।
प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ। तिनजनाले सोमबार विनाविभागीय मन्त्रीको शपथ लिएका थिए। अहिले उनीहरुको कार्यविभाजन भइसकेको छ । भने बाँकि १४ जना मन्त्रीको आजै अपराह्न ५:४५ बजे शपथ हुने तय भएको प्रधानमन्त्री स्रोतले जनाएको छ ।
माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् परराष्ट्र, वर्षमान पुन अर्थ, शक्ति बस्नेत ऊर्जा तथा जनस्रोत, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बन्ने भएका छन् । तामाङले शपथ लिइसकेका छन् ।
रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृह, डोलप्रसाद अर्याल श्रम तथा रोजगार, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने भएका छन् । जसमा अर्यालले शपथ लिइसकेका छन् ।
एमालेबाट रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी कानुन न्याय तथा संसदीय मामिलामन्त्री बन्दा दामोदर भण्डारी उद्योग, ज्वालाकुमारी साह कृषि, बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ र राजेन्द्र राई खानेपानी बन्ने गरी कार्यविभाजन भएको छ । जसमा गिरीले यसअघि नै शपथ लिइसकेका छन् ।
वर्तमान सत्ता गठबन्धनमा एमाले, माओवादी, रास्वपा र जसपाले हस्ताक्षर गरेका छन् । तर, जसपाबाट हालसम्म मन्त्री टुंगिएका छैनन् । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने इच्छा देखाएको दाबी नेताहरूले गरेका छन् । सरकारमा सहभागी भएमा उसले २ मन्त्रालय पाउनेछ । यसबारे निर्णय गर्न समाजवादीको बैठक जारी छ ।








