काठमाडौँ, १२ माघ
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल र अधिकृत छायाँलाल मोक्तानमाथि प्रहरीले हातपात गरेको छ । कार्यालयका अधिकृत मोक्तानलाई ४/५ जना प्रहरीको टोलीले कुटपिट गरेपछि त्यस विषयमा बुझ्न जाँदा हमाललाई पनि पछाडिबाट लात्ती हानेको कर्मचारीहरुले बताएका छन् ।
शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर जाँदा प्रहरीलाई चेकजाँच नगर्न आग्रह गरेका थिए । आफू अध्यागमन अधिकृत भएको र मेटल नभएकोले किन चेकजाँच गरेको भनेर मोक्तानले प्रश्न गरेका थिए । सोहि क्रममा विवाद बढेपछि हातपात भएको स्रोतले जानकारी दियो ।
गुनासो आएपछि सीसीटीभी फुटेज हेर्न गएका प्रमुख हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने । त्यसक्रममा अध्यागमन कार्यालय प्रमुख हमाललाई पनि लाग्यो ।
घटनाबारे विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दको उपस्थितिमा छलफल भइरहेको छ ।








