काभ्रे, ७ माघ
काभ्रेको पाँचखालमा १९ वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली–८ घर भएका धिरज हमाल, भोजपुर षडानन्द–८ घर भएका घनश्याम श्रेष्ठ र अन्य दुई जना १७ वर्षका बालक रहेका छन् ।
आरोपीहरु चौरमा बसेर मदिरा पिइरहेका थिए । उनीहरुले किशोरीलाई पनि मदिरा खान आग्रह गरे । खान्न भन्दा उनीहरुले जबरजस्ती खुवाएको पीडितले अनुसन्धान अधिकृतहरूलाई बताएकी छन् । मदिरा खुवाएपछि शिखरपुरस्थित जङ्गल छेउकै चौरमा दुईजनाले पालैपाले बलात्कार गरेपछि उनीहरु भागेका थिए ।
घटनास्थलमै किशोरीले रुखमा सल बाँधेर आत्महत्याको प्रयास गर्न खोज्दा एकजना गाडी चालकले देखेर वडा पाँचखाल–७ का वडा अध्यक्षलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरी पुगेर राति १० बजे किशोरीको उद्धार गरिएको हो ।
रुखमा बाधेको सल प्रहरीले बरामद गरेको छ । आरोपीहरुलाई थुनामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।