काठमाडाैं माघ ७,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कंदैछन् । अफ्रिकी राष्ट्र युगान्डाको राजधानी काम्पालामा भएको असंलग्न आन्दोलन (नाम)को दुई दिने १९औँ शिखर सम्मेलनलमा भाग लिन युगान्डा पुगेका उनी आज स्वदेश फर्किन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड आज बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छन् ।
उनी युगान्डाबाट नेपाली समयानुसार आज बिहान २:४५ बजे कतारको दोहा अवतरण गरेका थिए । त्यहाँबाट उनी नेपालतर्फ प्रस्थान गरिसकेको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बिहीबार युगान्डा प्रस्थान गरेका थिए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन् ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।