चितवन, ४ माघ
एकैवर्षमा लोकसेवाको पाँच परीक्षा उत्तीर्ण गर्ने गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई दिएका छन् ।
अध्यक्ष ओलीले सामाजिक संजालमार्फत बधाई दिँदै मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश मनिषाले दिएको बताएका छन् ।
उनले लेखेका छन्– ‘गुल्मीकी मनिषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा ५ वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरूमा पढेँ। यो सुखद खबर हो । मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनिषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस्, शुभकामना ।’
मनिषाले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन् ।