रौतहट, २९ पुस
रौतहटमा इँटाभट्टामा जिउँदै मानिस जलाएको घटनाका आरोपित नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
आलमको मुद्दामा आज पेशी तोकिएको जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीले जानकारी दिए । अन्तिम सुनुवाइका लागि भनेर पेशी तोकिए पनि अधिकांश न्यायाधीश विदामा रहेकाले आजै फैसला आउन नसक्ने उनले बताए ।
यसअघि न्यायाधीश बाबुकाजी बानियाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । हाल बानियाँको सरुवा भइसकेको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा आलमको निर्देशनमा बम विस्फोट भएको थियो । त्यसको पोल खुल्ने डरले बम विष्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर जलाएको आरोप पूर्वमन्त्री आलमलाई लागेको छ ।
यो मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन् । अभियोगपत्रमा आलमलाई ४५ वर्ष कैद सजाय माग दाबी गरिएको छ ।








