पोखरा, १८ पुस
घुस लिएको आरोपमा पक्राउ परेका कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली जेल चलान भएका छन् । उनीमाथि पोखराको मित्रमिलन सहकारीको क्षेत्र ११ वटै जिल्लामा विस्तार गर्नका लागि सहकारीबाट १ करोड ५ लाख घुस लिएको आरोप छ ।
न्यायाधीश ऋषिराम आचार्यको इजलासले पराजुलीसहित सहकारीको रकम हिनामिना आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।
सञ्चालक समितिका सदस्य गोपाल खनाल, बुद्धिसागर पौडेल, राजु बराललाई थुनामा पठाउन आदेश दिएको हो ।
प्रहरीले ३२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा हालसम्म ६ जना पक्राउ परेका छन् । अन्य फरारको खोजी भइरहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।








