काठमाडौँ, १४ पुस
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई राहत स्वरूप दश दश लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ललितपुरको बालकुमारीमा शुक्रवार ज्यान गुमाएका डोटीका २२ वर्षे वीरेन्द्र शाह र दैलेखका २३ वर्षे सुजन रावतकाे परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० रुपैयाँ दिने र घाइतेको उपचार सरकारले गर्ने जानकारी दिइन् । प्रधानमन्त्रीको निर्देशनमा ललितपुर प्रहरी प्रमुख शिद्धिविक्रम शाह, ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीको जिम्मेवारी पनि खोसिएको छ ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीले गोलि चलाएको थियो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए।








