धरान, १२ पुस
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको फोटो राखेका छन् ।
उनले कार्यकक्षमा रहेको राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर सो फोटो राखेका हुन् । सरकारले धरानको विकासका लागि आफूले मागेअनुसार बजेट र सहयोग नगरेको गुनासो साम्पाङले गरेका थिए ।
उनले बुधबार ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु । जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन फेरि उनीहरूको फोटो टाँस्नेछु’ भनेका थिए ।
यलम्बर प्रथम किराती राजा थिए। उनले किरातीहरूको रहनसहन व्यापार लगायत रीतिथिति, संस्कार, संस्कृति जोगाउन भूमिका खेलेको मानिन्छ।








