काठमाडौँ, १२ पुस
नेपाल प्रहरीका पुर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रितेन्द्र थापासहितको इजलासले बुधवार दोषी ठहर गरेको हो ।अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार यसको सजाय पुस २५ गते तोकिने छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेशविक्रम शाह, लेखापाल प्रहरी नायब निरीक्षक पनेरु, लेखा सहायक (प्रहरी हवल्दार) केशवसिंह ऐर र कोष तथा लेखा नियन्त्रक सञ्जीव विशंखेमाथि आरोपपत्र दायर गरेको थियो । ऐर र विशंखेले भने सफाई पाइसकेका छन्।
प्रहरी तालिम केन्द्र भरतपुर र प्रहरी तालिम केन्द्र दुधौली (सिन्धुली) मा कार्यरत रहँदा आर्थिक अनियमितता गरेको आरोप शाहमाथि थियो। अन्यत्र सरुवा भइसकेका प्रहरी जवानहरूको ०७२ साल माघ र फागुन महिनाको तलब भत्ता भ्रष्टाचार गरेको भन्ने उजुरी समेत परेको थियो। नयाँ प्रशिक्षार्थी प्रहरी जवानहरूको तलब भत्ता तलबी भरपाईमा किर्ते दस्तखत गरी तलब हिनामिना गरेको अख्तियारले पुष्टि गरेको थियो।
शाह ‘छापामारको छोरो’ कथासंग्रह पुस्तकका लेखक समेत हुन्। उनले वि.सं. २०६३ को मदन पुरस्कार पाएका थिए ।








