चितवन, भदौ १६
तेस्रो स्व सूर्यप्रसाद श्रेष्ठ स्मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भरतपुर कभर्ड हलमा प्रतियोगिता भएको हो ।
प्रतियोगिता अन्तर्गत खुला वडा स्तरीय पुरुष डबल्सतर्फ भरतपुर १९ का लेख गुरुङ र निशान गुरुङको जोडी प्रथम भएको छ । लेख र निशानको जोडीले फाइनलमा भरतपुर १० को सुरज गुरुङ र पवन गिरीको जोडीलाई २-१ को सेटले हराएको हो । विजेता लेख र निशानको जोडीले ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
दोस्रो भएको सुरज र पवनको जोडीले २० हजार प्राप्त गरएको छ । भरतपुर ७ का विद्धवान गुरुङ र डम्मर अधिकारीको जोडी तेस्रो भएको छ । उनीहरुले १० हजार रुपैयाँ प्राप्त गरे ।
उमेर समूहतर्फ महिला यू १३ एकलमा पुर्वी ताम्राकार प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । यस्तै अनुश्का भारती दोस्रो तथा सुफिना पौडेल र यङ्शी लामा तेस्रो भएका छन् । महिला यू १५ मा पनि पुर्वी ताम्राकार प्रथम हुँदा दिलाशा लामा दोस्रो तथा सुफिना पौडेल र युनिशा गुरुङ तेस्रो भएका छन् ।
महिला यू १७ मा युनिशा गुरुङ प्रथम भएकी छन् । यस्तै दिलाशा लामा दोस्रो तथा क्रिजा थापा र सुदिप्ती श्रेष्ठ तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रोले क्रमश: जनही ५ हजार, ३ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पुरुष यू १३ एकलमा उशफ गुरुङ प्रथम भएका छन् भने गाब्रिएल लामा दोस्रो तथा सौरभ महतो र निर्मल राय तेस्रो भएका छन् । यू १५ मा उशफ गुरुङ नै प्रथम हुँदा गाब्रिएल लामा दोस्रो तथा रशिक श्रेष्ठ र रामदीप यादव तेस्रो भएका छन् । यू १७ मा अमन दराई प्रथम हुँदा, युनिक चौधरी दोस्रो तथा प्रधुन गुरुङ र भुपेन्द्रराज न्यौपाने तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रोले क्रमश: जनही ५ हजार, ३ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका छन् ।
शिक्षक डबल्समा क्वेस्ट मोडल कलेजका देवेन्द्र न्यौपाने र शिव चौधरीको जोडी प्रथम भएको छ । यस्तै मनशिक्षा मन्दिरका निर्मल अंगाई र जीवन बाबुको जोडी दोस्रो हुँदा अंकुरम एकेडेमीका याङ्चेन तामाङ र आरएन ढकाल तथा स्मल हेभन स्कुलका सोम तामाङ र सूर्य अधिकारीको जोडी तेस्रो भएका छ्न् । प्रथमले ५, दोस्रोले ३ तथा तेस्रोले २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
स्काई राईडर टिम विजेता बनेको छ भने स्काई राईडरका उशफ गुरुङ उत्कृष्ट पुरुष खेलाडी र स्काई राईडरकै पुर्वी ताम्राकार उत्कृष्ट महिला खेलाडी बनेका छन् । डेजी स्कुलका युनान तामाङ सबै भन्दा कान्छो पुरुष खेलाडी तथा लिटल फ्लावरकी दिक्षिता श्रेष्ठ कान्छी महिला खेलाडी बनिन् । प्रतियोगिता दुई दिन चलेको थियो ।