काठमाडौँ, साउन १५-
नेपाललाई महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपाललाई महिला टी-२० विश्वकप २०२६ को छनोट प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएको हो ।
१० टोलीले प्रतिस्पर्धा गर्ने छनोट प्रतियोगिता अर्को वर्ष सन् २०२६ को जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुनेछ। प्रतियोगिताबाट उत्कृष्ट चार टोलीले सन् २०२६ मा इंग्ल्यान्ड र वेल्समा हुने मुख्य विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन्।
सन् २०२४ को महिला टी-२० विश्वकपमा सहभागी भएका आधारमा बंगलादेश र आयरल्यान्डले छनोट प्रतियोगितामा स्वतः स्थान बनाएका थिए।
त्यसैगरी, एसियाली क्षेत्रबाट थाइल्यान्ड र आयोजकको रूपमा नेपाल छनोट भएका थिए। अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिकाले आफ्नो स्थान सुरक्षित गरेको थियो। बाँकी पाँच स्थानका लागि अफ्रिका र युरोपबाट दुई-दुई तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट एक टोलीले आ-आफ्नो क्षेत्रीय छनोट जितेर आउनेछन्।
नेपालमा हुने प्रतियोगितामा सहभागी १० टोलीलाई पाँच-पाँच टोलीको दुई समूहमा विभाजन गरिनेछ। समूह चरणपछि सुपर सिक्स र फाइनल खेल हुनेछ। प्रतियोगिताको विस्तृत खेल तालिका भने आइसिसीले पछि सार्वजनिक गर्नेछ।