काठमाडौं, माघ २२ –
कुशल गायन कलाले स्रोताको मन जितेका ६९ वर्षीय उदितनारायण झा यति बेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । उनीसँग सम्बन्धित एउटा भिडियो ‘भाइरल’ भइरहेको छ । यो भिडियो एक कन्सर्टको भएको बताइएको छ ।
कन्सर्टमा उनको सुपरहिट गीत ‘टिप टिप वर्षा पानी’ गाउँदै गर्दा एक महिला फ्यान सेल्फी खिच्ने उद्देश्यले उदितनजिकै पुग्छिन् । महिला फ्यानले सेल्फी लिएपछि उदितको गालामा चुम्बन गर्छिन् । त्यसपछि उदितले महिला फ्यानको ओठमा चुम्बन गरिदिन्छन् ।
त्यसैक्रममा उनले केही अरू महिला फ्यानलाई अँगालो हालेर गालामा चुम्बन गरेको पनि देख्न सकिन्छ ।
त्यही भिडियो क्लिप भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आक्रोश व्यक्त गरेका छन् । केही प्रयोगकर्ताले उनको समर्थनमा पनि लेखेका छन् ।
हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उदितनारायणले यसबारे स्पष्टीकरण दिएका छन् । उनले भनेका छन्, “फ्यानहरू धेरै क्रेजी हुन्छन्, हैन र ? हामी त्यस्तो छैनौँ । हामी सभ्य मानिस हौँ । कोहीकोहीले यसलाई बढावा दिन्छन् र यसको माध्यमबाट आफ्नो प्रेम देखाउँछन् ।”
फ्यानहरू कलाकारसँग नजिकिन खोज्नु र माया दर्साउनुलाई सामान्य रूपमा लिनुपर्ने उनको धारणा छ । “फ्यानहरूलाई भेट्ने मौका यही हो भन्ने लाग्छ । त्यसैले कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात मिलाउँछन् । यसमा धेरै ध्यान दिनु हुँदैन,” उनले भनेका छन् ।