काठमाडौं, माघ १९ –
त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
शनिबार सिरिजको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो।
थाइल्याण्डको जितमा नन्नापात कोन्चरोएन्काइले ६० रन बनाइन्। उनले ५८ बलमा ६ चौका हान्दै नट आउट रहिन्। कप्तान नारेउमल चाइवाइले १३ र सुवानन खियाओटोले १४ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले तथा कविता कुँवर, रूविना क्षेत्री र कविता जोशीले एक/एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १०१ रन बनाएको थियो।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५/२५ रन बनाए। कप्तान इन्दु बर्माले १५ रन बनाउँदा अरू ब्याटर टिक्न सकेनन्। ओपनर सम्झना खड्का शून्यमै आउट भएकी थिइन्।
बलिङतर्फ थाइल्याण्डकी थिप्ताचा पुथाओङले तीन विकेट, फनिता माया र नट्टाया बुचथमले २/२ र चनिदा सुत्थिरूवाङले एक विकेट लिइन्।