मोरङ, ७ चैत
मोरङको बेलबारी नगरपालिका १ शिशौलीमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमती ४५ वर्षीया गीता लिम्बूलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
बमबहादुरले आठ वर्षीय छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भने भागेर ज्यान जोगाएका थिए । उनीहरु पाँच वर्षदेखि निर्मला राईको घरमा डेरा गरी बस्दै आएका थिए ।
घरायसी विवादका कारण बम बहादुरले धारिलो हतियार प्रहार गरी श्रीमती हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । श्रीमतीको हत्या गरेपछि श्रीमान् बहादुरले पनि घाँटीमा धारिलो हतियारले रेटेको उनले बताए ।
उपचारको क्रममा विराटनगरस्थित नोबेल हस्पिटलमा श्रीमान् बम बहादुरको पनि मृत्यु भएको छ । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षकको नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।








