काठमाडौँ, ४ चैत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दबाब यात्रा स्थगित गरेको छ । रास्वपा सरकारमा सहभागी भएपछि दबाब यात्रा स्थगित गरेको हो ।
रास्वपाले २१ वटा अलपत्र विकास आयोजनामा दबाब यात्रा गर्ने निर्णय गरेको थियो । तर, २१ फागुनबाट रास्वपा सरकारमा गएपछि विकास आयोजनामा दबाब यात्राले निरन्तरता पाएको छैन ।
२१ माघदेखि २१ चैतसम्म सक्ने गरी २१ वटा आयोजनामा दबाब यात्रा गर्ने कार्यतालिका बनाइएको थियो । महामन्त्री मुकुल ढकालले भने, ‘समाधान विधि निकाल्ने गरी नयाँ तरिकाले गर्छौं ।’ स्थगित भएको दबाब यात्रा कहिलेबाट गर्ने भन्नेबारे भने पार्टीले निर्णय नगरेको उनले बताए ।
२१ माघमा सभापति रवि लामिछानेको नेतृत्वमा मेलम्ची खानेपानी आयोजना निर्माणमा दबाब दिन सिन्धुपाल्चोक–काठमाडौं यात्रा गरिएको थियो । २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाका लागि फरक–फरक आयोजनामा दबाब यात्रा गर्ने गरी सूची बनाइएको थियो ।








