महोत्तरी, ३ चैत
सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणका आरोपी अझै फरार रहेका छन् । महोत्तरी जिल्ला अदालतले गत मङ्सिरमा अभिराम शर्मा, प्रदीप साह माझी, संजय साह, शंकर साही, रामशंकर मिश्र, सुरेश पाण्डेय र धम्रेन्द्र रायलाई जन्मकैदको फैसला सुनाएको थियो ।
न्यायाधीश उद्धवप्रसाद भटराईको एकल इजलासले फैसला गरेको हो । तर हालसम्म अभियुक्तहरु पक्राउ परेका छैनन् ।
जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् भने अभिराम शर्मा प्रदेश सभा सदस्य तथा लोसपा संसदीय दलका नेता हुन्। सजाय पाएका अन्य ५ जना मधेश केन्द्रित दलका नेता कार्यकर्ताहरु रहेको बुझिएको छ ।
२०७२ साल भदौ २५ मा असई विकको हत्या भएको थियो । उनको हत्या अभियोगमा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीसहित २८ जनाविरुद्ध ०७५ साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।
२८ जनामध्ये हाजिरी भएका ९ जनाको मुद्दामा महोत्तरी जिल्ला अदालतले फैसला गरेको थियो भने असई विक हत्याकै आरोपित नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरी र पवन कापरले सफाइ पाएका थिए । बाँकी सातजना विरुद्द अदालते जन्मकैदको फैसला सुनाएको छ ।
उक्त हत्या प्रकरण मुद्दामा परेका मधेश प्रदेशका पूर्वसांसद कौशल यादवसहित १९ आरोपित अझै फरार छन् । फरार हुनेहरुमा कौशल कुमार यादव, रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, बिकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, सम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव रहेका छन् ।








