काठमाडौँ, २३ फागुन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट धोका पाएको गुनासो गरेका छन् । ‘प्रचण्ड विश्वासयोग्य मान्छे होइन रहेछन्, नराम्ररी धोका दिए यार,’ देउवाले भने, ‘हामी सबैलाई गुमराहमा राखेर धोकाधडी गरे ।’
अध्यक्ष नेपालको कोटेश्वरस्थित निवासमा भएको भेटवार्तामा विकसित पछिल्लाे राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । पूर्वप्रधानमन्त्रीद्वयबीचको सो भेटमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिए ।
उहाँले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गरे । अध्यक्ष नेपालसँग मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि भेटवार्ता गरेका थिए ।








