काठमाडौं १९ फागुनः
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गएको बुधबार साँझ पहिले नगर प्रहरीमाथि स्टील रडले आक्रमण गरिएको जिकिर गरेका छन् ।
नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर नेकपा (एमाले)का कार्यकर्ता भएको उनको आरोप छ ।
शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले गएको बुधबारको घटनाबारे स्पष्टीकरण दिएका हुन् । सो साँझ नगर प्रहरीले बल प्रयोग गरेको विषयमा सामाजिक सञ्जालमा कतिपय व्यक्तिले विरोध गरेका छन् ।
उनले नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमालेका कार्यकर्ताहरू भएको पनि दाबी गरे । ‘भिडियोमा देखिएकी महिला सडक बिक्रेता नभई एमाले पार्टी कार्यकर्ता हुन्,’ उनले समाजिक सञ्जाल इन्सटाग्राममा लेखेका छन् । उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाएका छन् ।
फुटपाथमा व्यवसाय गरी बस्ने स्वरोजगार मजदुरमाथि सुन्धारा क्षेत्रमा बुधबार साँझ काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले गरेको बल प्रयोगको बारेमा यतिबेला चौतर्फी आलोचना भइरहेको छ । झडपमा महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ ।








