काठमाडौँ, ८ फागुन
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामा नैतिकता नभएको बताएका छन् । ओलीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत आलोचना गरेका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकमा उनले मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको सरकारी प्रतिवेदन रहेको बताए । त्यसकारण मन्त्री ज्वालाले पदबाट राजीनामा दिनुपर्नेमा उनले जोड दिए ।
“मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको प्रतिवेदन छ । मन्त्रीमा नैतिकता छैन,” ओलीले भने, “राजीनामा दिनुपर्दैन ? प्रधानमन्त्रीमा हटाउने हुती छैन ।”
पुस १३ गते बालकुमारीमा कोरिया जान नपाएका युवाले गरेको प्रदर्शनमा मन्त्रीको गाडी पुग्दा झडपको स्थिति आएको थियो । त्यसक्रममा प्रहरीको गोली लागि दुईजना युवाको मृत्यु भएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।








