काठमाडौँ, ७ फागुन
प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले एक राउन्ड गोली फायर गरेका छन् । ड्युटी सकेर कार्यालय फर्किएका श्रेष्ठले पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएको हो ।
उक्त गोलि उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड सिपाही आशिष जैसवाल घाइते भएका हुन् । उनको चन्द्रागिरिको मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ । जैसवालको अवस्था पनि सामान्य छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाका अनुसार प्रहरी निरीक्षक श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली पड्किएको हो ।
‘इन्स्पेक्टर श्रेष्ठले ड्युटी सकेर पेस्तोल बुझाउने क्रममा गोली अड्किएको र उक्त गोली निकाल्ने क्रममा लापरबाहीले उक्त घटना भएको देखिन्छ,’ उनले भने ।
इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसर तानेर छानविन गरिएको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वको समितिले घटनाबारे छानविन थालेको हो । समितिमा अन्य दुईजना सदस्य छन् ।








