दोलखा, २९ माघ
दोलखामा प्रेमिकाका आफन्तले १९ वर्षीय युवकको घाँटी रेटेर हत्या गरेका छन् । ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गरेको हो। यस घटनामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शैलुङ गाउँपालिका– ५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपाली रहेका छन् ।
युवकको हत्यामा उनीहरूको संलग्नता देखिएको र हत्या प्रेमसम्बन्धका कारण भएको दोलखाका प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । उनीहरुले भण्डारीको घाँटी रेटेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
यसरि भएको थियो बीभत्स हत्या :-
प्रहरीका अनुसार ११ पुसको राति भण्डारी काटाकुटीस्थित प्रेमिकाको घरमा बसेका थिए। गाउँको पूजामा गएका किशोरीका बाबु पुस्कर र ठूलोबुबा ईश्वर नेपाली मादक पदार्थ सेवन गरी घर आइपुग्दा भण्डारीलार्ई छोरीसँगै देखेपछि विवाद भएको थियो ।
विवादपछि किशोरीका ठूलो बुबाका छोरा विशाल नेपाली पनि आएका थिए । त्यसपछि तीनैजना मिलेर भण्डारीलाई एकान्तमा लगेका थिए । विशालले घरबाट खुकुरी ल्याई भण्डारीलाई नजिकैको भट्टे भनिने ठाउँमा लगेर घाँटी रेटेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।








