काठमाडौँ, २९ माघ
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश कारबाहीमा पर्ने भएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई कारबाही स्वरूप आइतबार मुगुमा काज सरुवा गरेको स्रोतले बतायो । स्रोतका अनुसार न्यायाधीश आचार्यको सम्पत्ति पनि अनुसन्धान हुने भएको छ ।
गत साता सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश आचार्यको इजलासले अनुसन्धानको कार्यमा सहयोग गर्नको लागि कागज गराई हाजिर जमानीमा छाडी बाँकी अनुसन्धानको कार्य पूरा गर्न सिआइबीलाई आदेश दिएको थियो । उक्त आदेशअनुसार पक्राउ परेका चौधरीसहित तीनै जना बुधवार रिहा भएका थिए ।
व्यवसायी चौधरीसहित छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण सिंह थापा र चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुर रिहा भएका थिए ।
अनुसन्धान नसकिँदै रिहा गर्न आदेश दिएपछि न्यायालयमाथि चौतर्फी प्रश्न उठ्दै आएको छ । पैसा र पावरमा चौधरीलाई रिहा गरेको न्यायालयमाथि आरोप लागेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चौधरीसहित तत्कालीन अजितनारायण सिंह थापा र ठाकुरलाई माघ १८ गते काठमाडौंबाट पक्राउ गरेको थियो । उनीहरूमाथि अनुसन्धानका लागि जिल्ला अदालतले सुरुमा ४ दिनको म्याद दिएको थियो ।








