रौतहट, १५ माघ
रौतहटको सदरमुकाम गौर नगरपालिका–४, गढवा टोलमा २१ वर्षीय महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मौलापुर नगरपालिका, बौधाटोल घर भइ हाल गौर–४ मा बस्दै आएकी पुनम बैठा रहेकी छन् । उनि दुई दिन अघि आफ्नै घरमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुईँमा छोएको र घाँटीमा सलले बाँधिएको अवस्थामा शव फेला परेका थियो।
पुनमलाई दाइजोको निहुँमा हत्या गरिएको माइती पक्षले आरोप लगाएका छन् । २०७७ साल जेठ महिनामा सामाजिक परम्परा अनुसार पुनमको बिहे गरिदिएको उनका बुबा संजय बैठाले बताए ।
उनका बुबाका अनुसार दाइजोको विषय लिएर पुनमलाई घर पक्षले शारीरिक र मानसिक यातना दिने गरेका थिए । बिहेमा नगद रुपैयाँ कम ल्याएको, पलङ नल्याएको भन्दै छोरीलाई यातना दिने गरेको बुबाले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटले मृतकको पोष्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी लिन नमिल्ने जनाएको छ । पोष्टमार्टम रिपोर्ट र अनुसन्धानबाट हत्या ठहर भएमा अपराधीलाई कारबाहीको दायरामा ल्याउने कार्यालयका प्रवक्ता डीएसपी एलिजा गिरी बताएकी छन् ।








