चितवन, साउन ३–
पत्रकार कृष्ण आचार्य कुटपिटको घटनामा संलग्न रहेकाहरुलाई चितवन प्रहरीले पक्राउ गरेपछि उनीहरुलाई छाड्न दवाब दिन विद्युत् प्राधिकरणका कर्मचारीहरुले आज सेवा ठप्प पारेका छन् ।
उनीहरुले सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्न नदिई नाराबाजीमा उत्रिएका छन् । कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार कर्मचारीलाई छोड्न दवाब दिने उद्देश्यले कर्मचारीहरुले पेन डाउन गर्दै प्रदर्शनमा उत्रिएका हुन् । कर्मचारीहरुले पक्राउ परेकाहरुलाई नछोडे ब्ल्याक आउट गर्नेसम्मका धम्की दिएका थिए ।
पत्रकार आचार्यमाथि विद्युत प्राधिकरण कर्मचारीले कार्यालयको गेट बन्द गरेर कुटपिट गरेका थिए । सोही घटनामा आचार्यले नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र प्रमुख राजीव कुमार सिंहसहित ८ जनाविरुद्ध अभद्र व्यवहार मुद्दा दर्ता गराएका थिए । पक्राउ पूर्जी जारी भएपछि प्रमुख सिंह फरार भएका थिए ।
उनलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अभद्र व्यवहार गरेको आरोपमा भरतपुर केन्द्रका सुपरभाइजर इलेक्ट्रिकल आनन्दबहादुर कुँवर, दिवछ शाह, सिनियर मिटर रिडर हेमन्त ढकाल, फोरम्यान इलेक्ट्रिकल तुलसी देवकोटा, लेखापाल मञ्जिलमान श्रेष्ठ, मिटररिडर हेमशंकर चौधरी र लेखापाल हरि पौडेल पक्राउ परेका छन् ।
पौडेल शुक्रबार राति नै पक्राउ परेका थिए । अन्यलाई भोलिपल्ट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले जानकारी दिनुभयो ।
घटनापछि नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न पेसागत संगठनहरुले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।