काठमाडौँ, २९ जेठ
प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले निर्मला पन्तको हत्यारा सार्वजनिक गरि कारबाही गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शाहीले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ?’ भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे । उनले ‘मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने ?’ भन्दै थप प्रश्न गरे ।
‘ठूलो फाइल खोल्छौं खोल्छौ भन्नुहुन्छ । गिरीबन्धुको फाइल कहिले खोलिन्छ ? मेलम्ची र वाडडबडीजस्ता ठूला काण्डका फाइल कहिले खुल्छन् ?,’ शाहीले भने, ‘सहकारी ठगीमा जोडिएका जीबी राई नेपाल देशभन्दा ठूलो हुन् ? जिबी राईलाई किन पक्राउ गरिएको छैन ? छिटो पक्राउ गरियोस् । फाइल खोल्छु, आकाश र पातालमा खोजेर भए पनि ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो । खोई खोजेको हो ?’
उनले गिरीबन्धु टी–इस्टेटबारेको सत्यतथ्य छानबिन गरेर सदनलाई जानकारी गराउन माग गरे । साथै, ‘कतिपटक गृहमन्त्री फेरिँदा निर्मला पन्तको हत्यारा पक्राउ गर्ने ?’ भन्दै शाहीले प्रश्न गरे ।