हेटौँडा चैत १९,
हेटौँडालाई काठमाडौंसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आइतबार (हिजो)देखि अनिश्चितकालका निम्ति सवारी सञ्चालन बन्द गरिएको छ । सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारीसाधनको आवागमन बन्द गरिएको हो ।
हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए ।
उनले कालोपत्र सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिने बताए । यसअघि, यही चैतको पहिलो सातादेखि कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको सिस्नेरी सडकखण्डमा निर्माण सम्पन्न नभएसम्मका निम्ति यातायात सेवा बन्द गरिएको थियो ।
निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाडौं आवतजावत गर्ने टाटासुमोलगायत सवारीसाधन आवागमन गर्न थालेपछि तोकिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्र नभएसम्मका निम्ति यातायात आवागमन बन्द गरिएको वडा कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । रासस








