रौतहट, १५ चैत
रौतहटमा मदिरा सेवन गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । वृन्दावन नगरपालिका १ बलहरी गाउँ तामाङ टोलका ४० वर्षीय तीर्थ वाइबाले ३५ वर्षीय सोतीमाया वाइबालाई हँसिया प्रहार गरेका हुन् । सोतीमायाको घटनास्थलमै मृत्यु भएको हो ।
नदीको बगरमा घाँस काट्न गएका श्रीमान श्रीमतीको घरायसी विवाद हुँदा श्रीमानले हँसिया प्रहार गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेलगत्तै तीर्थले घरमा आएर आफ्नो घाँटी हँसियाले रेटेका थिए ।
सिकिस्त घाइते भएका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।