काठमाडाैं चैत १५,
आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा शुरू हुँदैछ । बिहान ८ बजेदेखि शुरू हुने परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा हुनेछ । आजदेखि सुरु भएको परीक्षा आगामी २७ गतेसम्म सञ्चालन हुने छ ।
परीक्षामा देशभरका १० हजार बढी सामुदायिक तथा संस्थागत विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् ।
काठमाडौं जिल्लामा सबैभन्दा बढी १२७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ। त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी हुन् ।
यस वर्षको एसईईमा मुलुक बाहिर जापानमा पनि परीक्षा केन्द्रको व्यवस्था गरिएको छ । जापानबाट २३ जनाले परीक्षा दिँदै छन् ।
यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू भएकाले कक्षा ११ मा भर्ना हुन सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनै पर्ने बाध्यकारी नियम बनाइएको छ ।
३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।