काठमाडौँ, १४ चैत
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा आफूविरुद्ध दिइएको जाहेरी प्रहरीमा दर्ता नभएको दाबी गरेका छन् । उनले पोखराको सूर्य दर्शन सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा पुगिसकेको र त्यहाँ आफ्नो नाम नरहेको बताए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा बुधवार सहकारी ठगीमा आफ्नो संलग्नताबारे सोधिएको प्रश्नमा गृहमन्त्री लामिछानेले त्यहाँ आफ्नो नामबाहेक केही नभएको बताएका हुन् ।
‘सहकारी ठगीबारे यतिमात्र भन्न चाहन्छु, जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नाम बाहेक केही छैन । न हस्ताक्षर छ न ल्याप्चे छ । न मैले निवेदन दिएको छु, न केवाईसी छ। केही पनि भरिएको छैन’, लामिछानेले भने, ‘न कुनै पत्र पाएको छु । मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भइसकेको छ । म प्रतिवादी छैन । भएका प्रतिवादीको बयानमा पनि मेरो नाम उल्लेख भएको छैन ।’
लामिछानेले आफूविरुद्धको जाहेरी प्रहरीले सूचनाको लागि मात्र लिएको दावी गरे ।
‘जाहेरी परेको छ, सूचनाको रूपमा दर्ता भएको भन्ने जानकारी आएको छ’, लामिछानेले भने ।
चैत १८ गते बस्ने बैठकमा संसदीय छानबिन समिति गठन नभए संसद अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।