काठमाडाैं, चैत ६ –
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले माग गरेजस्तो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बन्न सम्भव नै नहुने बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफ चित्त नबुझेपछि कांग्रेसले लामिछानेको सहकारी प्रकरणमा जोडिएको विषयमा छानबिन समितिको माग गरेपछि ओलीले यस्तो बताएका हुन् ।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिँदै ओलीले कांग्रेसबाट जिम्मेवार प्रतिपक्षको अपेक्षा गरेको बताए ।
‘के विषयमा छानबिन समिति ? कसले मुछ्यो गृहमन्त्रीलाई ? अहिले उहाँहरू (कांग्रेस) सरकारबाट बाहिर हुनुहुन्छ । सरकारभन्दा बाहिर हुनेबित्तिकै नेपाली कांग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने आग्रह देखाउने अनि प्रतिशोधी खालका अभिव्यक्ति दिने र क्रियाकलाप गर्ने र संसद अवरुद्ध गर्ने जस्तो क्रियाकलाप गर्नुहुन्न’ ओलीले भने, ‘हामी नेपाली कांग्रेसबाट एउटा परिपक्व प्रतिपक्षी भूमिकाको आह्वान गर्छौ । कांग्रेसले माग गरेजस्तो संसदीय छानबिन समिति बन्ने सम्भव नै छैन ।’