काठमाडौँ, ४ चैत :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहसहित २४ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र दायर गरेको छ ।
आयोगले उनीसहित २४ जनाविरुद्ध रु ११ लाख ९६ हजार छ सय ९५ बराबरको सरकारी सम्पत्ति हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न कर्मचारी, सामुदायिक वनका पदाधिकारी र उपभोक्ता समितिलगायत व्यक्तिउपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेकाले ऐनको दफा १७ ले निर्दिष्ट गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गरी ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो असुलउपर गर्न माग दाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी, आयोगले रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धनकुमारी मगर, तत्कालीन सदस्य उर्मिला थापा मगर र पूर्णबहादुर सुस्लिङ, महोत्तरीको बर्दिबास नगरपालिका–१ बस्ने जग्गाधनीद्वय लीलामणि आचार्य र कृष्णप्रसाद गौतम, रम्तेल डाँडा सामुदायिक वनका उपभोक्ता एमबहादुर थापा मगर तथा नन्दमाया खनाल क्षेत्री र सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का रूख कटान गर्ने ठेकेदार सन्दीप नेपालीविरुद्ध पनि अख्तियारले रु ११ लाख ९६ हजार छ सय ९५ बिगो माग दाबी गरेको छ ।
यसैगरी, सब–डिभिजन वन कार्यालय बर्दिवासका तत्कालीन सहायक वन अधिकृत लक्ष्मणप्रसाद यादव, फरेस्टर सन्तोषकुमार साह, वनरक्षक राजकिशोर झा, अजयकुमार यादव, राकेशकुमार यादव, नारायण ढुङ्गेल र दिलीप महतोविरुद्ध पनि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
नापी कार्यालय बर्दिवासका तत्कालीन अमिन रामदरश राउत, मालपोत कार्यालय बर्दिवासका तत्कालीन नायब सुब्बा ओमप्रकाश खड्का र बर्दिबास नगरपालिका–१ का तत्कालीन वडा सदस्य शान्तादेवी श्रेष्ठ, बर्दिवास–१ का तत्कालीन वडाध्यक्ष चुडामणि पोखरेल र रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेरबहादुर राउतविरुद्ध अख्तियारले आरोपपत्र दायर गरेको छ । रासस








