विराटनगर, ३ चैत
विराटनगर–४ स्थित नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्या उनकै प्रेमीले गरेको प्रहरीले आशंका गरेको छ । धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शुक्रबार करिब १२ बजेतिर शौचालयमा शव फेला परेको थियो ।
हत्याको जानकारी पाएपछि लगतै प्रहरी घटनास्थल पुगेको थियो । प्रारम्भिक अनुसन्धानबाट युवतिको हत्या उनै प्रेमी भनिएका सिराहाकै अमिन नामका व्यक्तिले गरेको खुलेको प्रहरी स्रोतको दाबी छ ।
उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न स्थानमा धारिलो हतियारले काटेको चोट देखिएको मोरङ प्रहरीले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार दासको शव हेर्दा बिहीबार नै हत्या भएको जस्तो देखिन्छ । ‘घटनाको प्रकृति हेर्दा हिजोअस्ति नै हत्या भएको जस्तो देखिन्छ,’ उनले भने,‘ हामी अनुसन्धान गर्दैछौं, सबै विषय खुलिसकेको छैन ।’
घटनाको अनुसन्धान गर्दै आएका प्रहरी अधिकारीहरूले भने प्रेम सम्बन्ध नै हत्याको कारण भएको दाबी गर्छन् । ‘प्रेम सम्बन्धमा दरार उत्पन्न भएपछि हत्याको रूप लिएको हुनसक्ने अनुसन्धानबाट देखिन्छ’, घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले त्यही अनुरूप अनुसन्धान गर्दै छौँ ।’
अहिलेसम्म कोही पक्राउ परेका छैनन्,। विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








