काठमाडौं फागुन,२१
सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एकीकृत समाजवादी पर्ख र हेरको अवस्थामा पुगेको छ ।
सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँगको गठबन्धनलाई तोडेर एमाले र रास्वपालगायत दलसँग मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादी अलमलमा परेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ राजनीतिक घटनाक्रमका विषयमा दिउँसो ३ बजे बस्ने सचिवालयको बैठकमा छलफल हुने बताए । यद्यपि, एकीकृत समाजवादी सुरुदेखि नै वाम गठबन्धनको पक्षमा भएको हुँदा नयाँ समीकरणको पनि स्वागत गर्ने बताए ।
‘हामी सुरुदेखि नै वाम गठबन्धन र एकताको पक्षमा थियौं । व्यक्तिगत रूपमा त मैले ‘डे वान’ देखि नै कांग्रेससँगको गठबन्धन ठीक भएन भनिरहेको थिएँ । आज वाम एकता हुने गरी भएको गठबन्धनको निर्णय स्वागतयोग्य छ’, नेता खनालले भने, ‘यो गठबन्धनमा हामी के गर्छौँ भन्ने विषयमा आज ३ बजे बसेको बैठकमा छलफल हुन्छ । अहिले नै यसै के गर्ने भनेर भन्न सकिँदैन ।’
नयाँ गठबन्धनमा माओवादीसँग नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएका छन् । तर दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले गठबन्धन गर्दा एकीकृत समाजवादी भने बाहिर परेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीलाई पनि सँगै लिएर जाने पार्टीको पदाधिकारी बैठकमा बताएका छन् ।
प्रचण्ड नेतृत्वको सरकारमा एकीकृत समाजवादीका नेता बेदुराम भुसाल कृषिमन्त्री, प्रकाश ज्वाला भौतिक पूर्वाधारमन्त्री र नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री छन् ।
माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्री प्रचण्डले वाम एकतामा जाने गरी एकीकृत समाजवादीलाई समेटेर लैजाने मनस्थितिमा रहेको बैठकमा बताएका थिए ।
‘प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई पनि मिलाएर लैजाने भन्नुभएको छ । तर पहिलो चरणको छलफलमा चारवटा पार्टी मात्रै समेटिएका छौँ । अरू दलसँग छलफल गरेर छिट्टै उहाँहरू पनि गठबन्धनमा आउने वातावरण बन्छ’, पौडेलले भने ।
नयाँ गठबन्धनमा समेट्ने गरी प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका नेताहरूसँग अनौपचारिक छलफल भने गरिरहेका छन् । तर गठबन्धनमा एकीकृत समाजवादीलाई कस्तो भूमिका दिने भन्ने स्पष्ट प्रस्ताव न प्रधानमन्त्रीले दिएका छन्, न एकीकृत समाजवादीले अगाडि सारेको छ ।
एकीकृत समाजवादीका एक नेताका अनुसार ३ बजे बस्ने बैठकमा प्रधानमन्त्रीका तर्फबाट आएको प्रस्तावबारे छलफल हुने र सोहीअनुसार कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।