काठमाडौं फागुन १९
पश्चिमी वायुको प्रभावका कारण देशका केही भू–भागमा आज वर्षा हुनेछ । हिजोबाट पश्चिमी न्यूनचापीय प्रणाली पुनः सक्रिय भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतया बदली रहने जनाएको छ । वाग्मती तथा कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार राति देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशसहित वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।








