काठमाडौँ, १३ फागुन
निर्वाचन आयोगले आगामी वैशाख १५ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
आयोगको आइतबार बसेको बैठकले नेकपा एमालेका सांसद सुवास नेम्वाङको निधनपछि खाली भएको इलाम २, बझाङको प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने निर्णय गरेको हो ।
“निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,” निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ ।
२०७९ साल मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनपछि इलाम २ का निर्वाचित प्रतिनिधिसभा सदस्य नेम्वाङ्गको २०८० भाद्र २६ गते निधन भएको थियो ।
बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ का सदस्य पृथ्वीबहादुर सिंहको २०८० असार २५ गते निधन भएको थियो ।








