काठमाडौँ, १२ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले विकास निर्माणमा एकले अर्कोलाई दोषी देखाएर जनतालाई दु:ख दिने काम गरिरहेको बताएकी छिन् ।
आइतवार प्रतिनिधि सभा बैठकको शून्य समयमा काठमाडौं क्षेत्र नम्बर २ शंखरापुरको साखु–फटकेश्वर सडकको उदाहरण दिँदै उनले जनताले दु:ख पाउने संघीयता र प्रदेश संरचना आवश्यक नभएको बताएकी हुन् ।
‘मेरो निर्वाचन क्षेत्रमा पर्ने सडक भासिएको ६ महिनाभन्दा बढी भइसकेको छ । कुनै पनि बेला सवारी खस्ने र दुर्घटनाको सम्भावना छ । संघ र प्रदेशको भौतिक मन्त्रालयमा बारम्बार फलो गरिरहेकी छु । एकले अर्कोलाई देखाएर संघ र प्रदेशले पास-पासको खेल खेलिरहेका छन् । संसद्मा ध्यानाकर्षण गराउँदासमेत त्यो सडक ययाशीघ्र बन्दैन भने दुर्घटनाबाट हुने मृत्यु नभई राज्यद्वारा गरिएको हत्या हुनेछ’, गौतमले भनिन्, ‘संविधानले परिकल्पना गरेको संघीयता र प्रदेशको संरचना यस्तै हो, जनताले दु:खमाथि दु:ख मात्र पाउने हो भने यस्तो प्रकारको दुख पाउने संघीयता र प्रदेशको संरचना हामीलाई चाहिँदैन ।’








